विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयद्वारा गठित कोशी प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको समीक्षा बैठक सम्पन्न भएको छ। बैठकमा गत आर्थिक वर्ष तथा पछिल्लो नौ महिनाको अवधिमा सञ्जालले सञ्चालन गरेका २५ वटा मानव अधिकारसम्बन्धी गतिविधिको समीक्षा गरिएको हो।
मानव अधिकार शिक्षा कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अल्पसङ्ख्यक समुदायको अधिकार संरक्षणका लागि २०८२ मङ्सिर २ गते गठन भएको सञ्जालले विभिन्न जिल्लामा सचेतनामूलक तथा पैरवी कार्यक्रम सञ्चालन गरेको इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले जानकारी दिनुभयो।
बैठकमा शिक्षा, स्वास्थ्य, वातावरणीय अधिकार, दलित अधिकार, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा लैङ्गिक हिंसाविरुद्ध सञ्चालन गरिएका कार्यक्रमहरूको प्रभावकारिताबारे छलफल गरिएको थियो। नौ महिनाको अवधिमा सञ्जालले चारवटा त्रैमासिक बैठक सम्पन्न गर्नुका साथै सुनसरीको दुहवी नगरपालिकामा वातावरणीय अधिकार र मानव अधिकार, विराटनगर महानगरपालिकामा व्यवसाय, शिक्षा, स्वास्थ्य र मानव अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको जनाएको छ।
यस्तै, रङ्गेली नगरपालिकामा किशोरी स्वास्थ्य तथा परामर्श मेला, बुढीगङ्गा गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान, किशोरी शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी तालिम, जातीय विभेदविरुद्ध अन्तरक्रिया तथा सुशासन र निष्पक्ष निर्वाचनमा नागरिक समाजको भूमिकाबारे कार्यक्रम सञ्चालन गरिएको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो।
सञ्जालका संयोजक देवी बास्कोटाले संविधानले सुनिश्चित गरेका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सञ्जालले २०८३ साउन ११ गतेसम्म सञ्चालन गरेका २५ वटा गतिविधिबाट समुदायमा सकारात्मक सन्देश पुगेको बताउनुभयो।
समीक्षा बैठकमा सञ्जालका सदस्य लीलानाथ निरौला, प्रकाश परियार, दीपेन्द्र झा, अनिमेश आचार्य र शर्मिला परियारलगायतले आगामी दिनमा मानव अधिकार शिक्षा अभियानलाई अझ प्रभावकारी, पहुँचयोग्य र परिणाममुखी बनाउन सुझाव दिएका थिए।











