कञ्चनरूप, १३ साउन । सप्तरीको राजविराजमा व्यक्तिगत रिसिइबीका कारण एक व्यक्तिमाथि फलामको रड प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। घटनालाई लिएर सामाजिक सञ्जालमा फैलाइएको साम्प्रदायिक हल्ला भने असत्य रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बुधबार दिउँसो करिब १२ः३० बजे राजविराज नगरपालिका–९ स्थित गीता पेट्रोल पम्प नजिक आँखा अस्पतालबाट रुपनीतर्फ जाने सडकखण्डमा घटना भएको हो।
प्रहरीका अनुसार राजविराज–९ निवासी करिब ३५ वर्षीय फौदार सदाले व्यक्तिगत रिसिइबीका कारण विष्णुपुर गाउँपालिका–७ निवासी करिब ३५ वर्षीय जागेश्वर मण्डलमाथि फलामको रड प्रहार गरेका थिए। घटनामा घाइते भएका मण्डललाई तत्काल उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनालगत्तै प्रहरीले फौदार सदालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक सोधपुछका क्रममा सामाजिक सञ्जालमा फैलाइएजस्तो साम्प्रदायिक विषयसँग घटनाको कुनै सम्बन्ध नरहेको खुलेको प्रहरीले स्पष्ट पारेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनालाई तोडमोड गरी साम्प्रदायिक रंग दिन खोज्ने वा अपुष्ट सूचना सामाजिक सञ्जालमा फैलाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।













