राजविराज, १४ साउन । मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय योगदान पुर्याउँदै आएका सप्तरीको शम्भुनाथ नगरपालिका–१ कचन्दाहाका राजु पासवान ‘बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८३’ बाट सम्मानित हुने भएका छन्।
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोषको साउन १४ गते बसेको बैठकले पासवानलाई यस वर्षको (एघारौँ) पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। उक्त पुरस्कार इन्सेकद्वारा ‘२१औँ प्रकाश मानव अधिकार पुरस्कार’ प्राप्त गरेका बैद्यनाथ झाले प्राप्त गरेको ५० हजार रुपैयाँबाट स्थापना गरिएको कोषमार्फत २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार तथा नागरिक आन्दोलनमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिलाई प्रदान गर्दै आइएको छ।
कोषका सचिव मनोहरकुमार पोखरेलका अनुसार ३४औँ प्रकाश स्मृति दिवसको अवसरमा साउन १६ गते दिउँसो १ बजे नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा पासवानलाई ११ हजार ५ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिनेछ।
करिब साढे दुई दशकदेखि मानव अधिकार, सामाजिक न्याय, हिंसापीडितको उद्धार, पुनःस्थापना, समुदाय सशक्तीकरण तथा पैरवीका क्षेत्रमा सक्रिय पासवान कानूनमा स्नातक तथा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन्। हाल उनी एमफिल अध्ययनरत छन्। अपहेलित तथा सीमान्तकृत समुदायको अधिकार र सम्मानित जीवनका लागि उनले निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्।
यसैबीच, उर्मिलादेवी झा स्मृति मैथिली लोकगीत गायन पुरस्कार २०८३ राजगढ गाउँपालिका–नर्घो घर भई हाल राजविराज–६ निवासी शीलमदेवी झालाई प्रदान गरिने निर्णय पनि गरिएको छ।
प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आफ्नी भाइबुहारी स्वर्गीय उर्मिला देवी झाको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशि २ हजार ५ सय रुपैयाँ रहेको छ। मैथिली महिला परिषद्को सिफारिसमा मैथिली भाषा, संस्कृति तथा लोकसंगीत संरक्षणमा उल्लेखनीय योगदान पुर्याएको मूल्यांकन गर्दै शीलमदेवी झालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।
उर्मिला देवी झाको सात वर्षअघि मधुश्रावणी पर्वका लागि सामग्री खरिद गर्न विराटनगर गएका बेला एम्बुलेन्सको ठक्करबाट निधन भएको थियो। उहाँकै स्मृतिमा प्रत्येक वर्ष मधुश्रावणी पर्वको अवसरमा एक जना मैथिली लोकगायक वा गायिकालाई सम्मान गर्दै आइएको पुरस्कारका संस्थापक बैद्यनाथ झाले जानकारी दिएका छन्।












