विराटनगर, १५ साउन । मोरङको रतुवामाई नगरपालिका–१०, सोमबारेस्थित उर्लाबारी–आमबारी सडकखण्डमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय सिजुवा, मोरङ र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बङ्गडा चुनिबारीबाट खटिएको संयुक्त टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रक रोकी जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो।
प्रहरीका अनुसार ट्रकको पछाडिपट्टि धानको भुसाका बोरामुनि कालो प्लास्टिकमा प्याक गरिएको ३१ वटा पोकाभित्र लुकाएर राखिएको १ हजार ३३ किलो ४८४ ग्राम तयारी गाँजा बरामद गरिएको हो।
घटनापछि प्रहरीले गाँजासहित मिनी ट्रक नियन्त्रणमा लिएको छ। साथै ट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–९, हिले निवासी २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको तथा गाँजा कहाँबाट ल्याइँदै थियो र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।












