समाचार

राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कञ्चनरूप, १५ साउन । सप्तरीको राजविराज नगरपालिकाभित्र आन्दोलन तथा सम्भावित हिंसात्मक गतिविधिका कारण शान्ति सुरक्षा अवस्था बिग्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको साउन १५ गतेको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम शुक्रबार बिहान ८:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो।

कर्फ्यु आदेश राजविराज नगरपालिका क्षेत्रभित्र लागू हुनेछ। यसको सीमा पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी–थलही क्षेत्र, उत्तरमा रूपनी रोडको बसबिटी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर (विष्णुपुर गाउँपालिका सीमा) सम्म तोकिएको छ।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको उल्लङ्घन गरी कुनै पनि प्रकारका गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

प्रशासनले सर्वसाधारणलाई शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न तथा अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।

   

You cannot copy content of this page