राजविराज, १६ साउन । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरीले जिल्लामा सामाजिक सद्भाव, शान्ति र सहिष्णुता कायम राख्ने उद्देश्यले साउन १७ गते आइतबार राजविराजमा ‘सद्भाव र्याली’ आयोजना गर्ने भएको छ।
नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा शनिबार बसेको सञ्जालको आकस्मिक बैठकले सुनसरी र सिरहामा हालै भएका घटनापछि सप्तरीमा शान्तिपूर्ण वातावरण कायम राख्न र सामाजिक एकता सुदृढ बनाउन र्याली आयोजना गर्ने निर्णय गरेको हो। जारी विज्ञप्तिअनुसार र्याली बिहान ८:०० बजे राजविराजस्थित शिव मन्दिर परिसरबाट सुरु हुनेछ। सञ्जालले जात, धर्म, भाषा र संस्कृतिभन्दा माथि उठेर सम्पूर्ण नागरिक, राजनीतिक दल, सामाजिक संघ–संस्था तथा समुदायलाई र्यालीमा सहभागी हुन आग्रह गरेको छ।
बैठकले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा परी ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिरहाको औरही गाउँपालिकाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
यसैबीच, सञ्जालले सप्तरीमा खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको अभावप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सर्वसाधारणलाई सहज रूपमा इन्धन उपलब्ध गराउन स्थानीय प्रशासनसँग तत्काल पहल गर्न आग्रह गरेको छ।
बैठकले जिल्लाका समसामयिक विषयमा निरन्तर छलफल र समन्वयका लागि पापड सप्तरीको बैठक प्रत्येक महिनामा कम्तीमा एक पटक नियमित रूपमा आयोजना गर्ने निर्णय पनि गरेको छ।
जारी प्रेस विज्ञप्तिमा जिल्ला बार इकाई, गैसस महासंघ, नेपाल पत्रकार महासंघ, निर्माण व्यवसायी संघ, शिक्षक महासंघ, उद्योग वाणिज्य संघ, नेपाल चिकित्सक संघ, नेपाल प्राध्यापक संघ, महिला मानवअधिकार रक्षक सञ्जाल, नागरिक समाज, इन्सेक तथा परिकल्पना नेपालका सप्तरी प्रमुख तथा प्रतिनिधिहरूको संयुक्त हस्ताक्षर रहेको छ।














