समाचार

सप्तरीमा शान्ति, सद्भाव र सामाजिक सञ्जालको दुरुपयोग नगर्न प्रशासनको आग्रह

कञ्चनरूप, १६ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा शान्ति–सुरक्षा, अमनचयन तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी सूचनामा सामाजिक सञ्जाल (फेसबुक, टिकटक, इन्स्टाग्राम, व्हाट्सएप लगायत) मार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, घृणा उत्पन्न गर्ने, उत्तेजना बढाउने तथा शान्ति–सुरक्षामा असर पुग्ने खालका भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, रिपोस्ट, लाइक, कमेन्ट वा शेयर नगर्न अनुरोध गरिएको छ। यस्ता गतिविधिमाथि प्रशासनले निगरानी गरिरहेको जनाउँदै त्यस्ता सामग्री तत्काल हटाउन समेत आग्रह गरिएको छ।

त्यस्तै, आन्दोलन वा प्रदर्शनका क्रममा लाठी, भाला, तरबार तथा अन्य घरेलु हतियार प्रदर्शन नगर्न र बालबालिकालाई कुनै पनि आन्दोलनमा सहभागी नगराउन प्रशासनले स्पष्ट निर्देशन दिएको छ। बालबालिकाको प्रयोग कानूनतः निषेध भएकाले उल्लङ्घन गर्ने व्यक्ति तथा सम्बन्धित आन्दोलन आयोजकमाथि प्रचलित कानूनअनुसार कारबाही गरिने सूचनामा उल्लेख छ।

प्रशासनले समाजमा उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुर्‍याउने वा कानून–व्यवस्था हातमा लिन खोज्ने जो–कोहीलाई मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।

   

You cannot copy content of this page