कोशी प्रदेश समाचार

धनकुटामा ८ सय ४ किलो गाँजासहित दुई जना पक्राउ

धनकुटा, १७ साउन । धनकुटामा प्रहरीले ८०४ किलोग्राम लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा चौबिसे गाउँपालिका–४, फलामेटारमा छापा मार्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार प्लास्टिकका ४८ वटा बोरामा लुकाइछिपाइ राखिएको ८०४ किलोग्राम गाँजा फेला परेको थियो। घटनास्थलबाट गाँजा भण्डारणमा संलग्न रहेको आरोपमा छथरजोरपाटी गाउँपालिका–४ का स्थायी बासिन्दा तथा हाल चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरिप्रसाद ओझा र चौबिसे गाउँपालिका–४ निवासी ३४ वर्षीय आशिष विश्वकर्मा पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

   

You cannot copy content of this page