सिन्धुली, १८ साउन । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र सडक विभागको कार एकापसमा ठोक्किँदा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो।
ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा कार चालक सिन्धुपाल्चोकका करिब ३९ वर्षीय दिलकुमार लामा, स्काभेटर चालक सिन्धुली गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७/२८ वर्षीय गणेश थापा तथा नाम, थर र वतन नखुलेका एक जना हेल्पर बेपत्ता भएका छन्।
बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनापछि बस चालक सिन्धुली फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिई बससहित प्रहरी चौकी खाङसाङमा राखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गर्नुका साथै बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको जनाएको छ।














