सर्लाही, १८ साउन । सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडि १०९ केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष चेकजाँचका क्रममा पूर्व–पश्चिम राजमार्ग हुँदै बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको BR 09 M 3766 नम्बरको भारतीय कारलाई रोकी जाँच गरेको थियो।
जाँचका क्रममा कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकामा प्याक गरिएको करिब १०९ केजी (प्लास्टिकसहित) लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा भारतको बिहार राज्य, सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र सोही स्थानका २५ वर्षीय अमन कुमारलाई पक्राउ गरिएको छ। दीपक कार चालक रहेको प्रहरीले जनाएको छ।
बरामद गाँजा, प्रयोग गरिएको कार तथा पक्राउ परेका दुवै व्यक्तिलाई नियन्त्रणमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।















