कोशी प्रदेश समाचार समाज

नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर, १९ साउन । मोरङ प्रहरीले जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक महिला सहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ मा भाडामा बस्दै आएकी २५ वर्षीया सोनुमा लिम्बु, केराबारी गाउँपालिका–८ बस्ने ५० वर्षीय कमलबहादुर आले मगर र सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ३८ वर्षीय डम्बर खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

उनीहरूले लेटाङ नगरपालिका–१ स्थित रिसोर्टमा एक महिलालाई लगि मादक पदार्थ सेवन गराई ज्यान मार्ने धम्की दिँदै जबरजस्ती करणी गरेको आरोप छ ।

प्रहरीका अनुसार पीडित महिलालाई आईतबार विराटनगरबाट पथरी घुम्न जाने भन्दै तीनै जनाको मिलेमतोमा अत्यधिक मादक पदार्थ सेवन गराइएको थियो। त्यसपछि उनलाई रिसोर्टमा लगेर ज्यान मार्ने धम्की दिँदै डम्बर खतिवडाले जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले महिलासहित आरोपित तीनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई मोरङ जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

   

You cannot copy content of this page