मकवानपुर, २० साउन। मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
बुधबार राति करिब २:३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षासँगै लागेको बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई करिब १०० मिटर तल चण्डी खोलामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ। ट्रकमा सवार उनका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए।
दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। उपचारकै क्रममा बुधबार बिहान ९:१५ बजे चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















