समाचार

सिरहाको लहानमा अवैध पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

सिरहा, २० साउन । सिरहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले अवैध पेस्तोल र म्याग्जिनसहित तीन जना युवालाई पक्राउ गरेको छ।

प्रहरी चौकी सितापुरबाट खटिएको गस्ती टोलीले मंगलबार राति करिब ११ बजे नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान–२२ सलोखरी निवासी २० वर्षीय सबरजीत दास, २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दास रहेका छन्। सबरजीत दासले लगाएको पाइन्टको दाहिने गोजीबाट ९ एमएम जस्तो देखिने एक थान पेस्तोल र त्यससँगै रहेको म्याग्जिन बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा गुरुदेव दास र संजय दासको समेत संलग्नता रहेको आशंकामा उनीहरूलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद हतियारसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page