धनकुटा, २१ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट ६४७ किलोग्राम गाँजासहित ट्रक चालक र सहचालक पक्राउ परेका छन्।
बिहीबार बिहान करिब ५:३० बजे कोशी लोकमार्गमा विराटनगरतर्फ जाँदै गरेको ना. ३ ख ५०९५ नम्बरको ट्रकलाई प्रहरीले शंका लागेपछि रोकी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा ट्रकभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ राखिएको ४८ वटा पोकामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजाको तौल गर्दा जम्मा ६४७ किलोग्राम रहेको पुष्टि भएको छ।
घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३ निवासी २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको शहीदभूमि गाउँपालिका–१ निवासी ३६ वर्षीय तुलराम राईलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















