काठमाडौं, २३ साउन । भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा एक जना पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका–२, दुवाकोट बार्दखाल चोकस्थित भाडाको घरमा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनाले सञ्चालन गरेको त्वयना किराना पसलबाट ग्यासको कालोबजारी भइरहेको सूचना प्राप्त भएको थियो।
सूचनाका आधारमा प्रहरी टोलीले पसलमा चेकजाँच तथा अनुगमन गर्दा उपभोक्तालाई प्रतिलिटर/सिलिन्डर रु. ७ हजारका दरले एलपी ग्यास बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले पसलबाट ३ थान एलपी ग्यास सिलिन्डर बरामद गरी पसल सञ्चालक तुलसीराम त्वयनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
















