समाचार

दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालकको वनबाट सकुशल उद्धार

नवलपुर — गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक शिवान तामाङलाई सामुदायिक वन क्षेत्रबाट सकुशल उद्धार गरिएको छ।

भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। वनबाट घर फर्किएपछि उनले आफ्ना नाति शिवान घरमा नभएको थाहा पाएपछि स्थानीय बासिन्दा र छरछिमेकीको सहयोगमा खोजी सुरु गरेकी थिइन्।

स्थानीयस्तरमा खोजतलास गर्दा समेत बालक फेला नपरेपछि घटनाबारे इलाका प्रहरी कार्यालयमा जानकारी गराइएको थियो। त्यसपछि बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी तथा स्थानीय बासिन्दाले निरन्तर खोजी गर्ने क्रममा भदौ ४ गते बिहान करिब १० बजे बालक शिवानलाई गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारेका हुन्।

दुई दिनसम्म वन क्षेत्रमा हराइरहेका बालक सकुशल भेटिएपछि उनलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

   

You cannot copy content of this page