कञ्चनरूप, ४ भदौ । सप्तरीमा जापानिज इन्सेफलाइटिस भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार राम र तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादवको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको हो।
रामको साउन २१ गते विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने यादवको सोही दिन जिल्ला अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार सप्तरीमा थप तीन जनामा समेत जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको थियो। उनीहरू उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किसकेको कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयले जापानिज इन्सेफलाइटिसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, घर वरपर सरसफाइमा ध्यान दिन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

















