कञ्चनरुप, ६ भदौ । सप्तरीमा कुटपिट मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फैसला कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई खोजतलास गरी पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–६ का लक्ष्मी साह र इन्द्रजित साह रहेका छन्। दुवै जनाविरुद्ध सप्तरी जिल्ला अदालत राजविराजबाट कुटपिट मुद्दामा जनही ५ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।
अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनीहरूलाई खोजतलास गरी पक्राउ गरी सम्मानित सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि अदालतबाट भएको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।


















