समाचार

मोटरसाइकल अनियन्त्रित भई पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

कास्की । पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

लामागाउँस्थित सडकमा ग २० प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो। पोलमा ठोक्किएपछि मोटरसाइकल पोखराबाट साराङकोटतर्फ जाँदै गरेको ग १ ख ४३३५ नम्बरको बसमा समेत ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका–१८ की २९ वर्षीया रुपा बि.क. गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो।

मोटरसाइकल चालक पोखरा महानगरपालिका–१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र बि.क. घाइते भएका छन्। उनको टाउको तथा दायाँ कानमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न बस तथा चालक अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाका २४ वर्षीय अभिषेक परियारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

   

You cannot copy content of this page