समाचार समाज

सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गर्ने मृतककी कान्छी आमा पक्राउ

कञ्चनरूप । सप्तरीमा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा २५ वर्षीया एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा बस्दै आएकी रुबिना खातुनकी दुई वर्षीया छोरीलाई हत्या गरी घर पछाडिको झाडीमा फालिएको अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार घटना भदौ ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ नगरपालिका–३ स्थित बालिकाकी आमाको घर पछाडिको झाडीमा भएको हो।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी टोल घर भई हाल शम्भुनाथ–३ ट्राफिक बजारमा बस्ने २५ वर्षीया मुस्कान भनिने जास्मिन खातुनलाई पक्राउ गरेको जनाएको छ। उनी मो. इरफानकी कान्छी श्रीमती रहेको प्रहरी विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले पक्राउ परेकी जास्मिनलाई सोधपुछ गर्दा आफूले नै बालिकाको हत्या गरेको स्वीकार गरेको जनाएको छ। घटनाबारे मृतककी आमा रुबिना खातुनको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

पक्राउ परेकी जास्मिनलाई सप्तरी जिल्ला अदालतबाट भदौ ७ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

   

You cannot copy content of this page