सुनसरी, १० भदौ । सुनसरीको देवानगञ्ज गाउँपालिकाबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाइराखेको ४ सय १३ किलो ९८ ग्राम गाँजा बरामद गरेको छ।
बुधबार बिहान देवानगञ्ज गाउँपालिका–१, मध्यहर्षाहीस्थित रामजानकी मन्दिर पछाडि रहेको गाईगोठमा लागूऔषध गाँजा लुकाइछिपाइ राखिएको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो। उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले गाईगोठमा खानतलासी गर्दा कालो प्लास्टिकले बेरेर सेतो बोराभित्र राखिएको अवस्थामा ४ सय १३ किलो ९८ ग्राम गाँजा बरामद गरेको हो।
प्रहरीले गोठको पछाडि बेवारिसे अवस्थामा रोकिराखेको BR 38 R 0558 नम्बरको भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गाँजा र मोटरसाइकलका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ। साथै, गाँजा लुकाइराख्ने तथा कारोबारमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।














