समाचार

मृतकको कानबाट सुनको मुन्द्रा चोर्ने दुई जना चितवनबाट पक्राउ

चितवन, ११ भदौ । भोटेकोशी नदीमा आएको भीषण पहिरो र बाढीले बगाएर ल्याएको मृतकको शवबाट सुनको मुन्द्रा चोर्ने दुई जनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिबेणी नगरपालिका वडा नं. १ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १ लीला चोक बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरी चाँदबेला नगरपालिका वडा नं. ५ घर भई हाल भरतपुर वडा नं. २ पोखरा बसपार्क सुपारी टोल बस्ने ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोले बगाएर ल्याएको एक शवबाट उनीहरूले अमानवीय व्यवहार देखाउँदै कानको सुनको मुन्द्रा थुतेर चोरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

भिडियोकै आधारमा खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले उनीहरूलाई भदौ ११ गते भरतपुर महानगरपालिका वडा नं. १ पोखरा बसपार्क नजिकैबाट नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी मनिष श्रेष्ठले जानकारी दिनुभएको छ।

You cannot copy content of this page