काठमाडौं । भक्तपुरमा खाना पकाउने एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन्। प्रहरीले भक्तपुर नगरपालिका–२ इटाछे र सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरबाट उनीहरूलाई ग्यास सिलिण्डरसहित पक्राउ गरेको हो।
बिहीबार साँझ करिब ५ बजे सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश शाह पक्राउ परेका हुन्। सर्लाहीको बरहथवा नगरपालिका–७ घर भई हाल ब्रम्हनगरमै बस्दै आएका शाहले उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रुपैयाँका दरले बिक्री गर्दै आएको सूचना प्रहरीले प्राप्त गरेको थियो।
उक्त सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालय टेकुबाट प्रहरी निरीक्षक हेमबहादुर थपलियाको कमाण्डमा खटिएको टोलीले पसलमा अनुगमन गर्दा ७५ थान भरिएका हिमाल ग्यासका सिलिण्डर फेला पारेको थियो। त्यसपछि प्रहरीले पसल सञ्चालक शाहलाई नियन्त्रणमा लिएको हो।
यसैगरी, बिहीबार साँझ करिब ६ः३० बजे भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ थान सगर ग्यासका सिलिण्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य पक्राउ परेका छन्।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















