उदयपुर, भदौ २६ गते । उदयपुरमा प्रहरीले १ सय १ किलो ६ सय ४० ग्राम लागूऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
जिल्लाको त्रियुगा नगरपालिका–६ स्थितमा भदौ २५ गते प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले गाईघाटबाट कदमाहातर्फ जाँदै गरेका दुई वटा यात्रुवाहक विङ्गर गाडी रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा गाडीको छतमा प्लास्टिकमा प्याक गरी झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएपछि प्रहरीले यसको ओसारपसारमा संलग्न रहेको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















