इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
मिति २०८३ भदौ २८ गते बिहान २ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार चालकसहित दुई जना गम्भीर घाइते भएका थिए।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले दुवै घाइतेको उद्धार गरी बिहान ३ः२३ बजे उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित घोपा पठाएको थियो।
उपचारका क्रममा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका–३ निवासी २९ वर्षीय पारस थापाको बिहान ५ः११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मोटरसाइकलको पछाडि सवार जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी तथा इनरुवा नगरपालिका–३ निवासी ३४ वर्षीय सागर रेग्मीको पनि उपचारकै क्रममा बिहान ४ः५२ बजे मृत्यु भएको हो।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।













