समाचार

मोटरसाइकलको ठक्करबाट तीन पैदलयात्रीसहित चार जना घाइते

पोखरा, १ असोज । कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन गोलचौतारामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन पैदलयात्रीसहित चार जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब ९ः३० बजे ग १४ प ७०२३ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित चार जना घाइते भएका हुन् ।

दुर्घटनामा बाजुराको खप्तड गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ३१ वर्षीया बिस्ना ओली, उनका ७ वर्षीय छोरा मिसन ओली र ३ वर्षीय रिसव ओली घाइते भएका छन् ।

त्यस्तै, मोटरसाइकल चालक पोखरा महानगरपालिका–५ मालेपाटन गणतन्त्र चोक बस्ने १६ वर्षीय सुमित के.सी. पनि घाइते भएका छन् ।

घाइते चारै जनाको पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

You cannot copy content of this page