कञ्चनरूप , २ असोज । जबरजस्ती करणी उद्योग कसुर (जबरजस्ती करणीको प्रयास) आरोपमा सप्तरीबाट एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका वडा नं. ९ बस्ने अनुमानित २१ वर्षका मो. बदरुद्दिन रहेका छन्।
प्रहरीका अनुसार गत २०८३ असोज ३० गते बदरुद्दिनले कल्याणपुर–३ स्थित आफ्नै घरको कोठामा रहेकी एक महिला (परिवर्तित नाम ०८३ कल्याणपुर ३) लाई जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए। पीडित महिलाले हो-हल्ला गरेपछि प्रतिवादी घटनास्थलबाट भागी फरार भएका थिए।
घटनापछि फरार रहेका बदरुद्दिनलाई खोजतलास गर्ने क्रममा जिल्ला सप्तरी खडक नगरपालिका वडा नं. ९ बाटै फेला पारी प्रहरीले कानुन बमोजिम नियन्त्रणमा लिएको हो।
पीडितको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ। पक्राउ परेका उनलाई असोज १ गतेदेखि लागू हुने गरी सम्मानित जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














