कोशी प्रदेश समाचार

देवानगञ्ज घटनाः यादवसमूहबीच झडप भएको हो, गोली चलेको होइनः सुनसरी प्रहरी

सुनसरी, ३ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित बीपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज ३ गते साँझ करिब ५ः२५ बजे दुई यादव समूहबीच झडप भएको थियो। झडपका क्रममा देवानगञ्ज गाउँपालिका–१ का २४ वर्षीय निरज कुमार यादवको पुठ्ठामा चोट लागी घाइते भएका छन्। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णु कुमार यादव र सोही वडाका २६ वर्षीय ‘लाली’ भन्ने जयकृष्ण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यसैबीच, उक्त घटनालाई लिएर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गोली प्रहारबाट मानिसको मृत्यु तथा घाइते भएको भन्दै भ्रामक समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले ध्यानाकर्षण गराएको छ। प्रहरीले घटनाको वास्तविकता बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।

You cannot copy content of this page