समाचार

त्रिपुरेश्वर बस आगजनीमा गम्भीर घाइते लामाको मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सार्वजनिक बसभित्र भएको आगजनीबाट गम्भीर घाइते भएका बस चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।

बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा २५ वर्षीय लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो। गम्भीर अवस्थामा रहेका उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको अस्पतालका निर्देशक निजिना ताम्राकारले पुष्टि गरेकी छन्।

मुलपानीबाट थानकोटतर्फ जाँदै गरेको उक्त बसमा आगजनी भएपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनाभन्दा केही मिनेटअघि राति १२ः३७ बजे लामाको ट्राफिक प्रहरीसँग विवाद भएको प्रारम्भिक विवरणसमेत सार्वजनिक भएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरी स्थायी घर भएका लामा पछिल्लो समय कोटेश्वरमा बस्दै आएका थिए। सात भाइमध्ये एक रहेका उनी विगत ६–७ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत थिए। उनले यसअघि ट्याक्सी तथा चन्द्रागिरि यातायातमा समेत काम गरेका थिए भने पछिल्लो ३–४ महिनादेखि ऋद्धिसिद्धि यातायातमा चालकका रूपमा कार्यरत थिए।

घटनाको कारण तथा बसमा आगजनी हुनुको वास्तविक पृष्ठभूमिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

You cannot copy content of this page