समाचार

ट्याक्टरको ट्रली पल्टिँदा च्यापिएर महिलाको मृत्यु

नवलपरासी । देवचुली नगरपालिका–१६ टाँगिकोटस्थित नारायणगढ–बुटवल सडकखण्डको परियोजनाअन्तर्गत रहेको चिनियाँ कम्पनीको परिसरमा ट्याक्टरको ट्रली पल्टिँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा देवचुली नगरपालिका–४ बस्ने करिब ४० वर्षीया मनकुमारी सोती मगर रहेकी छन्।

प्रहरीका अनुसार लु.२ त ६८११ नम्बरको ट्याक्टरको ट्रलीमा कम्पनीका ब्लक लोड गरी लैजाने क्रममा सोही ट्रलीको पछाडिपट्टि बसिरहेकी मगर ट्रली पल्टिँदा च्यापिएकी थिइन्। ट्रलीको ढालाले टाउकोदेखि कम्मरसम्मको भाग च्यापिएपछि उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक ज्ञानप्रसाद काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले ट्रली उठाई उद्धार कार्य गरेको जनाएको छ।

घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको छ भने मृतकको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

You cannot copy content of this page