कञ्चनरुप ,२३ असोज । कञ्चनरूप नगरपालिका–१२, रुपनगर चोकमा सुविधा सम्पन्न ‘नाइस नेपाली रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ। शुक्रबार एक कार्यक्रमबीच रेस्टुरेन्टको औपचारिक उद्घाटन गरिएको हो।
रेस्टुरेन्टकी प्रोप्राइटर सहनाज खातुनले आफ्ना ससुरा सफिक लहिरी र सासू जोहरा खातुनको संयुक्त हातबाट रिबन काटेर रेस्टुरेन्टको उद्घाटन गराएकी हुन्।
काठमाडौँ तथा विराटनगरका आधुनिक रेस्टुरेन्टमा पाइने सेवा–सुविधालाई ध्यानमा राखेर रुपनगरमै सुविधा सम्पन्न रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालकले जनाएको छ। स्थानीयस्तरमै स्तरीय वातावरण, स्वादिष्ट परिकार तथा सहज सेवा उपलब्ध हुने भएपछि यस क्षेत्रका स्थानीयवासी उत्साहित भएका छन्।

कञ्चनरूप नगरपालिका–१२ का कार्यवाहक वडा अध्यक्ष जैनुद्दिन मियाँले रुपनगरजस्तो ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न रेस्टुरेन्ट सञ्चालनमा आउनु समग्र वडावासीका लागि गौरवको विषय भएको बताए।
“हाम्रो गाउँमै काठमाडौँ र विराटनगरमा पाइनेजस्तै सुविधा सम्पन्न रेस्टुरेन्ट सञ्चालनमा आउनु सकारात्मक कुरा हो। यसले स्थानीयको आवश्यकता पूरा गर्नुका साथै व्यवसायिक गतिविधि बढाउन पनि सहयोग पुग्नेछ,” उनले भने।

रेस्टुरेन्ट सञ्चालनमा आएपछि स्थानीयवासीलाई खानपिनका लागि टाढा बजार धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास गरिएको छ। नयाँ रेस्टुरेन्ट खुलेसँगै रुपनगर चोकमा स्थानीयको चहलपहलसमेत बढेको छ।
स्थानीयवासीले पनि आफ्नै क्षेत्रमा आधुनिक र सुविधा सम्पन्न रेस्टुरेन्ट सञ्चालनमा आउनु खुसीको विषय भएको बताएका छन्। उनीहरूले रेस्टुरेन्टले गुणस्तरीय सेवा र खानाको स्वाद कायम राख्दै स्थानीय ग्राहकको विश्वास जित्ने अपेक्षा गरेका छन्।












