कोशी प्रदेश • समाचार

पारिवारिक झगडामा कुटपिट हुँदा ३ महिने शिशुको मृत्यु, चार पक्राउ

झापा । झापाको दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटबाट तीन महिनाका शिशुको मृत्यु भएको छ।

असोज २३ गते दिउँसो करिब १:२० बजे शिविरको सेक्टर डी–२ स्थित एक घरमा घरायसी विषयलाई लिएर परिवारका सदस्यबीच विवाद भई झैँझगडा भएको थियो।

प्रहरीका अनुसार ६८ वर्षीय मनबहादुर तामाङ, उनकी श्रीमती ६२ वर्षीया आशा तामाङ, छोरा ३४ वर्षीय फुर्बा सिंह तामाङ र बुहारी ३८ वर्षीया बिमला भारतीबीच विवाद भएको थियो। सोही क्रममा मनबहादुरले बुहारी बिमलालाई कुटपिट गर्दा उनको काखमा रहेका तीन महिनाका छोरा सामेल तामाङलाई भित्री चोट लागेको थियो।

घाइते शिशुलाई उपचारका लागि दमक अस्पताल लगिएकोमा दिउँसो २:०५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

You cannot copy content of this page