कञ्चनरूप, १६ कात्तिक । सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनामा रुखको हाँगा काट्ने क्रममा विद्युत्को नाङ्गो तारमा छुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
सोमबार भएको घटनामा स्थानीय झमेलिया सदाका ३५ वर्षीय छोरा दिपु सदाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार सफेताको रुखको हाँगा काट्ने क्रममा विद्युत्को नाङ्गो तारमा छोइएपछि दिपुलाई करेन्ट लागेको थियो। सोही घटनामा शम्भुनाथ नगरपालिका–७ का बौका सदाका २६ वर्षीय छोरा उपेन सदा गम्भीर घाइते भएका थिए।
घाइते उपेनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार हाल उनको अवस्था मध्यम रहेको छ।
मृतक दिपुको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







