बिहीबार, ४ मंसिर २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, ४ मंसिर २०८३
खेलकुद

दशौं राष्ट्रिय खेलकुदका लागि मधेशबाट १० टेबलटेनिस खेलाडी छनोट, सप्तरीका पियुष पनि परे

राजविराज, ३ मङ्सिर । आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन मधेश प्रदेशबाट १० जना टेबलटेनिस खेलाडी छनोट भएका छन्। छनोट हुने खेलाडीमध्ये सप्तरीका १४ वर्षीय पियुष यादव पनि परेका छन्।

महोत्तरीको जलेश्वरमा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट पुरुष र महिला दुवैतर्फ पाँच–पाँच जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन्।

अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष मनोहर पोखरेलका अनुसार पुरुषतर्फ सिरहाका कृष्ण थापा मगर, धनुषाका नवीनबहादुर सिंह, सप्तरीका पियुष यादव, पर्साका सञ्जय अर्याल र रौतहटका लक्ष्मणबहादुर बस्नेत छनोट भएका छन्।

त्यसैगरी महिलातर्फ महोत्तरीका दीपिका भगत, अस्मिता यादव र दिव्या साह तथा धनुषाकी प्रणिता गिरी र पर्साकी पूजा साह छनोट भएका छन्।

छनोट प्रतियोगितामा सर्लाहीबाहेक मधेश प्रदेशका सात जिल्लाका ३८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। सहभागीमध्ये २७ जना पुरुष र ११ जना महिला खेलाडी थिए।

छनोट भएका सप्तरीका पियुष यादव तिलाठी कोइलाडी गाउँपालिका–८ का १४ वर्षीय खेलाडी हुन्। कम उमेरमै प्रदेशस्तरीय छनोट पार गर्दै राष्ट्रिय प्रतियोगितामा स्थान बनाउन सफल भएपछि उनी सप्तरीको प्रतिनिधित्व गर्दै राष्ट्रिय मञ्चमा उत्रिने भएका छन्।

मधेश प्रदेश टेबलटेनिस संघका अध्यक्ष अनिल घिमिरेले राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने लक्ष्यसहित छनोट भएका खेलाडीलाई नियमित प्रशिक्षणको व्यवस्था गरिने बताए। प्रतियोगिताको समापनमा मधेश खेलकुद परिषद्का सदस्य जितेन्द्र साहले पनि खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्यका साथ तयारीमा जुट्न आग्रह गरेका थिए।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ। प्रतियोगितामा ३२ खेलका ३४८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ। राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा ३४८ स्वर्ण, ३४८ रजत र ६४१ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्
विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page