रवि शर्मा /
राजविराज । सप्तरीसहित मिथिलाञ्चलमा आज विवाहित महिलाहरुले हर्षोल्लासका साथ बटसावित्री अर्थात बरसाईत पर्व मनाउँदै छन् ।
जेठ महिनाको अमावश्याका दिन मनाइने यस पर्वमा विवाहित महिलाहरु आफनो पतिको दिर्घायुको कामना गर्दै श्रद्धापूर्वक पूजा पाठ गर्ने गरिन्छ ।
घर नजिकैको धार्मिक स्थलको बरको रुख मुनी बसेर पतिको दिर्घायुको कामना गर्दै सुनसरीको सिमावर्ती क्षेत्र देवानगंज गाउँपालिका सहित विभिन्न पालिकाका महिलाहरुले बटसावित्री पर्व धुमधामसँग मनाउँदै छन् ।
पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रुखको फेदमा बसेर कठोर ब्रत गरी आजैको दिन आफना पतिको प्राण फर्काएको हुँदा महिलाहरुले पनि आफ्ना पतिको दिर्घायुका लागि बटसावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको छ ।
त्यसैगरी यस अवसरमा महिलाहरु पोखरीको डिलमा रहेको बरको रुखमा पूजाआजा गर्ने गर्दछन् । बटसावित्री पर्वको अवसरमा पूजा अर्चना गर्न गाउँघरमा रहेको बरको रुख नजिक बिहानैदेखि महिलाहरुको भिड लागेको छ । नव विवाहिताहरु एकदिन अगाडीनै चोखो भएर अरबा अरबाइइन शुद्ध खानेकुरा खाने गर्दछन् भने बटसावित्री पर्व गर्ने सबै महिलाहरु नयाँ बस्त्र लगाई बटसावित्रीको गीत गाउँदै समुहमा पूजा गर्न बरको रुख नजिक पुग्ने गर्दछन् ।
बटसावित्रीको पूजा सामग्रीमा आँप, लिच्ची, मकैको लावा र दुध रहने गरेको छ । पौराणिक मान्यता अनुसार आजकै दिन मृत्यु देवले सावित्रीको पतिको प्राण लिने प्रयास गरेको तर सावित्रीले देखाएको मायाका कारण यमदूतले समेत उनको पतिको ज्यान लिन सकेका थिएनन् । यसैकारण मिथिलाञ्चलका नारीहरु बटसावित्री पूजा गर्ने गर्दछन् ।
Add Comment