समाचार

जिल्ला अदालत बार इकाईमा गठबन्धन समूहलाई पराजित गरी प्रगतिशील समूहको विजयी

राजविराज, २२ जेठ । सप्तरी जिल्ला अदालत बार इकाई राजविराजमा प्रगतिशील समूहको प्यानल विजयी भएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनले समावेशी प्रगतिशील समूहका सम्पूर्ण पदाधिकारी, सदस्य र पार्षद निर्वाचित भएका छन् ।
शनिबार मध्याति सम्पन्न निर्वाचन परिणाम अनुसार प्रगतिशील समूहबाट अध्यक्षमा अधिवक्ता रामप्रसाद चौधरी विजयी भएका छन् । चौधरीले ५३ मत पाउँदा उनका निकटतम बृहत लोकतान्त्रिक गठबन्धन समूहका अधिवक्ता कामेश्वर यादवले ३९ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक कृपानारायण यादवले बताए ।

उपाध्यक्ष पदमा फुलनारायण यादवले ५६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम गठबन्धन समूहका ममताकुमारी चौधरीले ३७ मत पाइन् । सचिवमा प्रमोदकुमार चौधरीले आफ्ना निकटतम प्रजातान्त्रिक गठबन्धन समूहका कमलकुमार यादवलाई २३ मतले पराजित गरे । चौधरीले ५७ मत पाए भने यादवले ३४ मत मात्रै पाए ।
कोषाध्यक्षमा प्रगतिशील समूहकी मनु खनाल ५७ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम विरेन्द्रप्रसाद चौधरीले ३६ मत प्राप्त गरे ।
सदस्यहरूमा वीरबहादुर कडारीले ६१ मत, वैद्यनाथ चौधरीले ५५ मत, उमेशनारायण शरणले ५१ मत, राजनारायण यादवले ५० मत र रहमुल मन्सुरीले ४३ मत ल्याई निर्वाचित भएका छन् । निर्वाचित सबै प्रगतिशील समूहकै हुन्।

यस्तै केन्द्रीय पार्षदमा महेन्द्रप्रसाद देव, केशरलाल खंग, बिरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित भएका छन् ।
सहसचिव पदमा समावेशी प्रगतिशील समूहकी किरण साह निर्विरोध निर्वाचित भइन् । सप्तरी जिल्ला वार इकाई राजविराजमा कुल ९७ मतदातामा ९४ जनाले मतदान गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page