मधेस प्रदेश समाचार समाज

सप्तरीमा बालिका बेचबिखन र ओसारपसार कसुरमा एक बालकलाई आठ वर्ष कैद

राजविराज । सप्तरीमा १३ र १४ वर्षीया बालिकाहरूलाई बिक्री गर्ने उद्देश्यले भारत लगेको आरोपमा एक बालकलाई ८ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई शुक्रबार ८ वर्ष कैद सजायको फैसला गरेको हो ।
जिल्ला अदालतले आरोपितलाई कैदका साथै ४० हजार रुपियाँ जरिवाना तिराउने, ४० हजार रुपियाँ क्षतिपूर्ति भराउने र १ हजार ३ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न लगाउने समेत फैसला गरेको छ ।
बालिकाहरूलाई ०७७ कात्तिक १० गते आरोपित सहित शम्भुनाथ नगरपालिका–५ ट्राफिक चोकका १८ वर्षीय ओमप्रकाश चौधरीले बिक्रीगर्ने उद्देश्यले भारत लगेको भन्दै पीडितहरूका बुबाहरूले ०७७ कात्तिक १६ गते संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितहरूले कात्तिक १० गते राति पीडितहरूलाई राजविराज नगरपालिका–७ बाट शम्भुनाथ नगरपालिका–५ ट्राफिक चोकस्थित आरोपित चौधरीको सानी आमाको घरमा ल्याएर राखेको र कात्तिक ११ गते बिहानै मोटरसाइकलमा चढाई भारतको बिहार मधुवनी जिल्ला, लौकही प्रखण्ड, ग्रामपञ्चायत करियौत लगेको पीडितहरूले बताए ।
करियौतका स्थानीयवासीले शंकालागी सोधपुछ गर्दा आरोपितहरू फरार भएपछि उनीहरूले पीडितहरूको परिवारका सदस्यहरूलाई सम्पर्क गरी ०७७ कात्तिक १६ गते जिम्मा लगाएका थिए । पीडितहरूको उद्धार भई घर फर्किए पछि उनीहरूको बुबाले संयुक्त रूपमादिएको उजुरी जिल्लाप्रहरी कार्यालयले कात्तिक १६ गते दर्ता गरेको थियो ।
बेचबिखन गर्न भारत लगेको आरोपमा प्रहरीले आरोपित १६ वर्षीय बालकलाई ०७७ कात्तिक १४ गते गिरफ्तार गरेकोमा मङ्सिर ८ गतेको आदेशले आरोपित बालक बालसुधार गृह बिरगञ्जमा थिए । उच्च अदालत जनकपुर राजविराज इजलाशको आदेशमा बालक ०७८ असार ३ गते रिहा भएका छन् ।
अर्का आरोपित चौधरी फेला नपरेकाले उनीविरुद्धको मुद्दा चैत ७ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page