राजविराज । सप्तरीमा मनोसामाजिक अपाङ्गता भएकी १७ वर्षीया बालिकामाथि बलात्कार गर्न सहयोग पुर्याएको आरोपमा तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी मुर्ति देवी खङ्ग पक्राउ परेकी छिन् ।
आरोपित मुर्ति देवी खङ्गले उनका भिनाजु तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खङ्गलाई बलात्कार गर्न आफ्नो घरकोठा उपलब्ध गराएको आरोप छ । कोठामा थुनेर ०७९ कात्तिक ७ गतेदेखि पटक–पटक बलात्कार गरेका कारण पीडित गर्भवती भएको उनका परिवारले बताएका छन् । मुर्ति देवीले मिलोमतो गरी आरोपित मौधकरसँग भेटाएर यौन सम्बन्ध गर्न लगाएको र पेट ठूलो भएपछि घरका मानिसले थाहा पाई परीक्षणका लागि अस्पताल लगेका थिए ।
पीडितका बुबाले ०७९ चैत २ गते दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरूपले चैत ९ गते दर्ता गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा चैत १२ गते भएको थियो । अस्पतालका अनुसार पीडित ४ महिनाकी गर्भवती रहेकी थिइन् ।
बलात्कार गरेको दृष्यको फोटो र भिडिओ झ्यालबाट लिएको र कसैलाई भनेमा फोटो र भिडिओ देखाएर जीवन बर्बाद पार्ने भनी मुर्ति देवीले धम्की दिएकी पीडितको आरोप छ । मुर्ति देवीका पति लक्ष्मण खङ्ग वैदेशिक रोजगारमा छन् ।
जेठ २६ गते गिरफ्तार भएका मौधकर खङ्ग असार १७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । जिल्ला अदालतले ०८० जेठ २६ गते मुर्ति देवी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । आरोपित मुर्ति देवीसँग असार २८ गते नै जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासले पुर्पक्षका लागि धरौटी माँग गर्ने आदेश गरेको छ ।
Add Comment