मधेस प्रदेश समाचार

सप्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा महेन्द्र रामलाई १२ वर्ष कैद सजाय

राजविराज । सप्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सुरुङ्गा नगरपालिका–४ का २१ वर्षीय महिकु भनिने महेन्द्र रामलाई १२ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलासबाट आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष कैदका साथै ४ लाख रुपियाँ जरिवाना तिराउने, १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति दिलाउने र फौजदारी कसुर पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ भराउने फैसला भएको सप्तरी जिल्ला अदालतले जनाएको छ ।
आरोपितले २०७९ जेठ १९ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा जेठ २१ गते उजुरी दिएका थिए । सुतेको घरबाट लिएर गएका आरोपितले सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरस्थित सामुदायिक जङ्गलमा लगेर बलात्कार गरेको पीडितले बताए ।
पीडितको सिरहा स्थित जिल्ला अस्पताल सिरहामा जेठ २१ गते स्वास्थ्य परीक्षण भएको थियो । आरोपितलाई प्रहरीले जेठ २३ गते गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतमा ०७९ असार १४ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश ऋषिराम आचार्यको इजलासले आरोपित ०७९ असार १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page