समाचार

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै समयमा र अन्तिम नामावली प्रकाशित गर्न ६ संगठनको माग

राजविराज, १९ जेठ । नेपाल पत्रकार महासङ्घको जेठ २६ गते तोकिए निर्वाचन समयमा सम्पन्न गर्न र अन्तिम नामावलीको सुची प्रकाशित गर्न विभिन्न छ सङ्गठनले माग गरेका छन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा सदस्यता र नामावली टुङ्गो लगाएर सार्वजनिक गर्न ढिलाइ गरिएको भन्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, प्रगतिशील पत्रकार सङ्घ नेपाल, जनपत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी प्रेस सङ्गठनले आज संयुक्त विज्ञप्ति जारी गरी माग गरेका हुन् ।
निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकामा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ । ती सङ्गठनले महासङ्घ नेतृत्वलाई छिटो सदस्यता टुङ्गो लगाई तोकिएको समयमा निर्वाचनको सुनिश्चितता गर्न आग्रह गरेका छन् ।
महासङ्घका अद्यावधिक सदस्यहरूको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रियाबमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण बनाउन पनि विज्ञप्तिमार्फत माग गरिएको छ । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको तीन वर्षे कार्यकाल २०८० चैतमा सकिइसके पनि नयाँ नेतृत्व चयन गरी पदभार हस्तान्तरणको प्रक्रियामा अलमल देखिएको छ । यसलाई कुनै पनि बहानामा अवरूद्ध गर्ने कार्य नगर्न केन्द्रीय नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराउँदछौँ, विज्ञप्तिमा उल्लेख छ ।
साथै महासङ्घको गौरवपूर्ण इतिहास, साझा चरित्र र गौरवलाई रक्षा गर्दै पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र पत्रकारिताका मुद्दाहरूलाई सम्बोधन गर्न सहकार्य गर्दै अघि बढ्ने पनि जनाएका छन् ।

   

You cannot copy content of this page