समाचार

सप्तरीमा बदेलको मासु तथा हातहतियार सहित १० जना शिकारी पक्राउ

कञ्चनरूप , १३ भदौ ।
सप्तरीमा बँदेलको मासु तथा हातहतियारसहित १० जना शिकारीहरु पक्राउ परेका छन् । 
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोसीव्यारेज क्षेत्रमा बँदेल मारेर ट्याक्टरमा लोड गरी लैजाँदै गरेका वन्यजन्तु चोरी शिकारीमा संलग्न १० जनाको भीआईपी टोली बुधबार मध्यराती पक्राउ परेका हुन्  ।
शिकारी टोलीमा नेपाल प्रहरीका पूर्व डिआइजी, वहालवाला प्रहरी नावय निरिक्षक र पूर्व उपसभामुखका छोरा समेत छन्।
बँदेल मारेर ट्याक्टरमा लोड गरी फर्किंदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शिकारी टोलीमा पूर्व डिआईजी ज्ञानविक्रम शाह र प्रहरी नायव निरीक्षक सञ्जय न्यौपानेसहित छन्। शाह सुनसरीको इटहरी उपमहानगरपालिका–२ र न्यौपाने विराटनगर उपमहानगरपालिका–३ का निवासी हुन् ।
पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका–८ निवासी पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, सोही नगरपालिका–२ का जर्नादन राउत, वडा नम्बर –५ का ओमशंकर प्रसैला, वडा नम्बर –१ का लक्षमण मण्डल, वडा नम्बर–३ का शंकर खिडहरी यादव, तिरहुत गाउँपालिका–२ का लक्षमण मण्डल, राजविराज नगरपालिका–७ का रविन दास र इटहरी–२ का प्रदीप लिम्बु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरुले को २ त ६९ नम्बरको ट्याक्टरमा गोली हानी मारिएको बंँदेल लोड गरेर प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कारपियोमा फर्किदै  थिए । सोही समयमा उनीहरुलाई पक्राउ गरिएको जनाईएको छ । शिकारी टोलीको साथबाट २२ क्यालीवरको राइफल १ थान, म्यागजीन २ थान, गोली १५ राउण्ड, वाइनाकुलर ३ थान, ट्राइपोर्ट १ थानलगायतका हातहतियार बरामद भएको सप्तरीका प्रहरी प्रबक्ता ढुण्डीराज न्यौपानेले जानकारी दिनुभएको छ । 
पूर्व डिआइजी शाह र वहालवाला सई न्यौपाने लामो समयदेखी कोसीव्यारेज क्षेत्रमा हतियारसहित शिकार खेल्न आउने गरेको थिए ।  अबैध गाँजा तस्करी भईरहेको सूचना पाएपछि त्यस क्षेत्रमा प्रहरी खटिएका प्रहरी टोलीपकले उनीहरुलाई पक्राउ गरेको सप्तरीका प्रहरी प्रबक्ता ढुण्डीराज न्यौपानेले बताउनुभयो । 
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखी घटनावारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

   

You cannot copy content of this page