कञ्चनरूप, २० कात्तिक । सप्तरी प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भइ फरार रहेका ११ जना प्रतिवादीलाई आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले कुटपिट (अङ्गभङ्ग) र जालसाजी मुद्दाका फरार प्रतिवादीलाई मंगलबार नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जिल्लाको मलेकपुर वडा नम्बर १ का कुटपिट (अङ्गभङ्ग) मुद्दाका प्रतिवादी धुरण सदा, देवु सदा, भुला सदा, हिरालाल सदा, बद्री सदा, मलेकपुर-४ का लक्ष्मी नारायण ठाकुर, दिपेन्द्र ठाकुर कोमधेपुरा-८ का गुल्छा यादव र जालसाजी मुद्दाका नकटी रायपुर-८ का दशै यादव पक्राउ परेका हुन् ।
त्यस्तै चेक अनादर मुद्दाका प्रतिवादी खडक नगरपालिका ११ का सन्तोष कुमार चौधरी र चोरी मुद्दाका प्रतिवादी खडक-११ का शिवदेव सरदार पक्राउ परेका छन् ।
उनीहरुलाई खोजतलास गरी लुकिछुपी गाउँघरमा बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय कुमार राईले जानकारी दिनुभयो ।
जरीवाना र कैद भुक्तानका लागी मंगलबार नै सप्तरी जिल्ला अदालत राजविराजमा उपस्थित गराइएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।