मधेस प्रदेश समाचार समाज

सप्तरीमा ट्रकबाट १७ क्विन्टल भन्दा बढी गाँजासहित एक पक्राउ

राजविराज, ४ मङ्सिर । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । सप्तरीको राजगढ गाउँपालिका-४ बाट प्रहरीले सोमबार राति १७ क्विन्टल १७ किलोग्राम लागूऔषध गाँजा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयले मंगलबार बिहान पत्रकार सम्मेलन गरी गाँजासहित पक्राउ परेकालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनकुट्टाको शहीदभूमी गाउँपालिका ३ बस्ने यमजित राई छन् ।
३५ बर्षीय उनले को.१ख ६५०३ नम्बरको टिपरमा गाँजा राखेर भारततर्फ गइरहँदा राजगढ गाउँपालिका ४ स्थित बेल्ही चपेनाबाट उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
सप्तरीको राजगढ गाउँपालिका-४ बाट उक्त क्षेत्रमा बालुवा गिटी भण्डारण गरी राख्ने र भारततर्फ चोरी तस्करी हुने गरेको सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रकमा बालुवा लोड गर्दा तल गाँजा राखेर भारततर्फ लग्ने योजना अनुरूप जाँदै गर्दा गोप्य सूचनाका आधारमा प्रहरीले चेक गर्दा उक्त गाँजा फेला परेको प्रहरीको भनाइ छ ।
यस बिषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page