कञ्चनरूप, २३ मंसिर । प्रेस चौतारी नेपाल शाखा सप्तरीले नेपाल पत्रकार महासंघको आसन्न मंसिर २८ गते हुने निर्वाचनका लागि अन्य संगठनसंग चुनावी तालमेलका लागि कार्यदल गठन गरेको छ ।
प्रेस चौतारी नेपाल शाखा सप्तरीले आइतबार एक विज्ञप्ती जारी गर्दै उक्त जानकारी गराएको हो ।
अध्यक्ष डम्बर राईको अध्यक्षतामा आयोजित बैठकले पत्रकार सम्बद्ध संघ-संगठनसँग वार्ता र सहकार्य गर्दै निर्वाचन सन्दर्भमा आवश्यक कार्य नीति तय गर्नका निम्ति कार्यदल गठन गरेको हो ।
कार्यदलमा खगेन्द्र कार्की, डम्बर राई र शिव प्रसाद आचार्य गरि ३ जना रहेको जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
चौतारीले सर्वसम्मतबाट जिल्ला नेतृत्व चयनका लागि आग्रह गर्दै नयाँ नेतृत्व चयनका लागि सहयोगको अपेक्षा समेत गरेको छ ।
‘क्रियाशिल पत्रकारहरुको राम्रा नेतृत्वको लागि सबै संगठनहरुको उपस्थिति देखिने कार्यसमितिका निम्ति सर्वसम्मत निर्णयकासाथ अघि बढ्न हार्दिक अपिल गर्दछौ’, अध्यक्ष राईद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,’साझा सहमतिलाई पहिलाे प्राथमिकता दिदै सर्वसम्मत कार्यसमिति निर्माण हुने परिस्थिति नबनेमा नजिक हुन चाहने, सँग संगठनहरुसंग वार्ता र छलफल गरी अगाडी बढ्न प्रेस चौतारी नेपाल सप्तरी शाखा तत्पर रहेको जानकारी गराउदै सहज वातावरणमा नयाँ नेतृत्वका लागि निर्वाचनमा सबै संघ-संगठनहरूको सहयोगकाे अपेक्षा गर्दछौ।”
‘नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका प्रकाशित भई निर्वाचन कार्यक्रम आरम्भ भइसक्दा पनि सप्तरीको सदस्यता नामावली सार्वजानिक हुन नसकेकोमा दुःख व्यक्त गर्दै यथाशिघ्र निष्पक्षता पूर्वक सदस्यता नामावली प्रकाशन गरी निर्वाचनको वातावरण सहज र निश्चित बनाउन जोडदार माँग गर्दछाै।’ चौतारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको आगामी मंसिर २८ गते एकसाथ निर्वाचन हुने भएको छ ।