कञ्चनरूप, २ पुस । सप्तरी प्रहरीले भारतबाट साइकलमा लोड गरी अबैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याउँदै गरेको लाखौंको अबैध सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ खुरहुरियाबाट भारतबाट अबैध रुपमा ल्याउँदै गरेको १ लाख ९ हजार ७ सय २० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।
चोरी पैठारी गरी साइकलमा लोड गरि बोराहरु ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेर साइकलधनी फरार भएपछि बोरा भित्र खुकुरी चुरोट ६० पोका, कविर एकसप्रेस खैनी ६० पोका गरी १ लाखबढी मुल्य बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको साइकलसहित सामानहरु मंगलबार आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।