कञ्चनरूप, ८ फागुन । सप्तरीको सप्तकोशी नगरपालिका स्थित होटल भिल्लामा तराईका मुलवासी थारु समुदायको ‘माइन्जन, जेवार प्रथाजनित अभ्यास सम्बन्धित छलफल तथा अन्तरक्रिया’ कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
आदिवासी जनजाति अनुसन्धान बिकाश केन्द्र(सिप्रेड) नेपालका संस्थाका अध्यक्ष डा. पासाङ्ग शेर्पाको अध्यक्षता तथा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख अतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री लेखीले आदिवासी जनजातिको प्रथाजनित अभ्यासहरु समाजको हितका लागि भएकोले यसलाई संस्थागत गर्न स्थानिय सरकारको ध्यान जानू आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार समाजमा एकता कायम राख्न र दिगो विकासका योजना सञ्चालन गर्न तथा जलवायु परिवर्तनसम्बन्धी समस्या समाधानका लागि स्थानिय तहले ऐन कानुन निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
मन्त्री लेखीले थारु समुदायले ऐतिहासिक काल खण्ड देखि समाज ब्यबस्थापन र संचालनको लागि अभ्यासमा ल्याएको माइन्जन,जेवार,थान पति जस्ता प्रथाहरु लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
आदिवासी जनजाति अनुसन्धान विकाश केन्द्र ( सिप्रेड) नेपालको आयोजित कार्यक्रमको उदेश्य बारे संस्थाका अध्यक्ष डा.पासाङ्ग शेर्पाले प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा सप्तकोशी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, बेलका नगरपालिकाका उपप्रमुख, विभिन्न वडाका अध्यक्ष, माइन्जन, जेवार प्रथा अनुसन्धान समितिका पदाधिकारी, थारु संस्कृती संघ नेपालका पदाधिकारी लगायतकाले आआफ्नो धारणा राख्नुभएको थियो ।
थारु समुदायले ऐतिहासिक कालखण्डदेखि समाज व्यवस्थापन र संचालनको लागि अभ्यासमा ल्याएको माइन्जन, जेवार, थानपति जस्ता प्रथाहरु लोप हुँदै गएको बताईन्छ । सो कुरालाई मध्यनजर गर्दै संस्थाले त्यस्ता प्रथाजनित अभ्यासहरुलाई पुन:स्थापित गर्न थारु समुदायमा अध्यन अनुसन्धानको कार्यक्रम संचालन गर्दै आइरहेको छ ।







