कञ्चनरूप, २ साउन । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २ लाखभन्दा बढीको किराना सामानहरु सप्तरी प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा राजविराज नगरपालिका वडा नम्बर ५ स्थित भारतको कुनौलीबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको उक्त किराना सामानहरु बरामद गरेको हो ।
कुनौली–राजविराज सडक खण्ड अन्तर्गतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीहरुलाई देखी बोरा सोही स्थानमा छाडी संलग्न व्यक्तिहरु भागि फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बेवारिसे अवस्थामा रहेको उक्त बोरालाई प्रहरीले नियन्त्रणमा लिई खोली चेकजाँच गर्दा सो बोरा भित्र चिनी, खाने तेल, जिरा लगायतका विभिन्न किराना समानहरु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार उक्त सामान २ लाख ४० हजार ५ सय ८६ रुपैयाँ बराबरको रहेको छ ।
बरामद भएको उक्त सामानहरुलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय राजविराजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायबव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

