कञ्चनरूप (सप्तरी), ११ साउन । इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापना गरिएको “प्रकाश मानव अधिकार पुरस्कार” यस वर्ष चुरे तथा वन-जंगल संरक्षण अभियानका संयोजक सुनिलकुमार यादवलाई प्रदान गरिने निर्णय इन्सेकले गरेको छ ।
पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरिएअनुसार प्राप्त ४० जनाको नाम मध्येबाट वातावरण अधिकारका क्षेत्रमा सम्झौतारहित सङ्घर्ष गर्दै आउनु भएका यादवलाई छनोट गरिएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा. सूर्यप्रसाद ढुंगेल र अधिकारकर्मी गंगा कसजु सदस्य हुनुहुन्थ्यो ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–२ मौवाही निवासी यादव सन् २०७४ सालदेखि चुरे संरक्षण र वातावरणीय अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ। चुरे क्षेत्रको दोहनका कारण मधेस प्रदेशमा देखा परिरहेका जलवायु तथा वातावरणीय असरबारे सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन उहाँले विभिन्न सचेतनामूलक कार्यक्रम, अभियान र पैरवी गर्दै आउनुभएको छ ।
आगामी साउन १६ गते काठमाडौँमा आयोजना हुने ३३ औँ प्रकाश स्मृति दिवसको अवसरमा पुरस्कृत व्यक्तित्व यादवलाई नगद ५० हजार सम्मानपत्र र इन्सेकको प्रतीक चिन्ह प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

