कञ्चनरूप, असोज १० गते । सप्तरी प्रहरीले चाडपर्व लक्षित आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको छ । दशैँ, दिपावली तथा छठ पर्व लक्षित जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो ।
चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि जिल्लाभर ९ सय १४ प्रहरी परिचालन गरिने प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
चाडपर्व लक्षित ट्राफिक प्रहरी सहित ९ सय बढी प्रहरी परिचालन गर्नुका साथै सूचना संकलनको लागी सादा पोशाकमा प्रहरी परिचालन गरिने प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार जिल्लामा जिल्ला प्रहरी कार्यलय मातहत प्रहरी कार्यालयहरू समेतमा रिजर्भ, स्टेण्डवाई/स्ट्राईकिङ्ग, अनुगमन चेकिङ्ग, सवारी गस्ती, संयुक्त चेकिङ्ग, पैदल गस्ती, पिकेट, महत्वपूर्ण प्रतिष्ठान, विशिष्ट व्यक्ति सुरक्षा, धार्मिक स्थलको सुरक्षा, आर्थिक कारोवार हुने स्थानको सुरक्षा, यात्रु सहायता कक्ष, झै-झगडा, जुवा तास, मादक पदार्थ सेवन नियन्त्रण, सीमानाका सुरक्षा, आकस्मिक सभा, जुलस, धर्ना लगायत कार्यक्रमको सुरक्षा, मा.प.से. चेकिङ्ग (ट्राफिक सहित), बिशेष चेकिङ्ग (लामो दुरीका सवारी), कर्डन एन्ड सर्च लगायतका सुरक्षा योजना रहेको जनाएको छ ।
यस्तै विभिन्न स्थानमा पिकेटहरू खटाई सार्वजनिक स्थान र सवारीसाधनमा हुन सक्ने दुर्व्यवहारलाई नियन्त्रण गरिने, मदिरा पसल र भट्टीहरूलाई निगरानिमा राखि समयमा नै बन्द गराईने योजना प्रहरीले बनाएका छन् ।
साथै जिल्ला प्रहरी कार्यालय सप्तरीले प्रभावकारी रुपमा सवारी आवागमन, शान्ति सुरक्षा सु-व्यवस्था मिलाईएको हुँदा “विजया दशमी, दिपावली र छठ पर्व २०८२” शुभकामना सहित निर्धक्क, ढुक्क साथ भयरहित वातावरणमा आ-आफ्नो धार्मिक रीतिरिवाज, आस्था विश्वास, मूल्य मान्यता अनुसार चाडपर्व मनाउन सम्पूर्णमा जिल्ला वासीहरुमा अनुरोध समेत गरेको छ ।


