समाचार

सप्तरीको कञ्चनरुपमा ट्रकबाट ९ सय ७८ किलो गाँजा सहित एक पक्राउ 

कञ्चनरुप, ५ मंसिर सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझियाबाट ट्रकमा लोड गरिएको ९ सय ७८ किलो अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ट्रक चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का २५ वर्षीय संजय श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति करिब १०:३० बजे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरी र इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेको कमाण्डमा रहेको संयुक्त टोलीले ट्रक, चालक र गाँजा नियन्त्रणमा लिएको हो । 

गोप्य सूचनाका आधारमा फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ट्रकलाई पूर्व–पश्चिम महेन्द्र राजमार्गमा रोकेर जाँच गर्ने क्रममा ट्रकमा फल्सबटम (गुप्त कोठा) बनाई लुकाइराखिएको अवस्थामा ट्रकभित्र राखिएका २८ वटा सेता बोरामा प्लास्टिकले प्याक गरी लुकाइएका ती परिमाणका गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो । 

ट्रक, गाँजा र चालक श्रेष्ठलाई तत्कालै नियन्त्रणमा लिई लागू औषध कसुरमा सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

   

You cannot copy content of this page